काठमाडाैँ,राष्ट्रिय पुरुष फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार विज्ञप्ति जारी गर्दै खड्काले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सहायक निरीक्षक (असई)मा जागिर खाएको जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसमेत रहेका खड्काले माध्यमिक शिक्षा परिषद् बाराणशी, उत्तरप्रदेशबाट जारी भएको शैक्षिक योग्यता (आइएको) को झुट्टो प्रमाणपत्र पेश गरेको आयोगको दाबी छ ।

सोही प्रमाणपत्रका आधारमा २०५५ कार्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा उनी नियुक्ति भएको खुलेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनी महानगरीय प्रहरी गण नम्बर २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद गतिविधिमा कार्यरत थिए । खड्का २०५९ साल पुस १४ गते प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए । अहिले भने उनी सेवानिवृत्त भइसकेका छन् ।

सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका खड्का त्यसपछि ६ वर्ष पुलिस फुटबल टिमको व्यवस्थापकीय भूमिकामा थिए । त्यसपछि उनले जागिरबाट राजीनामा दिएका थिए ।

गत वर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यसमेत नियुक्त भएका खड्कालाई मन्त्रिपरिषद् बैठकले राखेपको सदस्यमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय