सरोज बस्नेत
उर्लाबारीकै उत्कृष्ट पर्यटकीय गन्तब्य हो, बेतिनी सिमसार । उर्लाबारी–२ को बेतिनी सामुदायिक वन हाताभित्र फैलिएको यो पयर्टकीय क्षेत्रमा बेलाबेला शान्ति सुरक्षाका विषय लिएर प्रश्न खडा हुँदै आएको छ । तर, जब झगडा हुन्छ, तब मात्रै तातो लाग्ने गरेको छ । अहिलेसम्म सिमसार क्षेत्रमा आउने पर्यटकहरुको लागि शान्ति सुरक्षाको उचित ब्यवस्थापन हुन सकेको छैन ।
बेतिनी सामुदायिक वनले जेनतेन प्रयास गरिरहेको छ । तर, त्यो पर्याप्त छैन । पक्कै पनि हिजोको तुलनामा यो सिमसार क्षेत्रमा अहिले चाम बढेकै देखिन्छ ।
वनभोज खानका लागि होस् वा घुम्नका लागि यो बेतिनी सिमसार राम्रो गन्तब्य हो । तर, यहाँ आउने आगन्तुहरु असुरक्षित महशुस गर्नु चिन्ताको विषय हो । माघ १ गते सामान्य बिषयलाई लिएर युवाहरुबीच कुटाकुट भयो । स्थानीय युवाहरु र कानेपाखेरीका युवाबीच कुटाकुटको क्रममा २ युवा घाइते बने । युवाहरुबीच भएको झगडामा परी मोरङ कानेपोखरी–५ बस्ने वर्ष १७ का सुरज धिमाल र सोही वडा बस्ने वर्ष १९ का निमेश धिमाल घाइते भएका थियो । अहिलेसम्म घटनामा संलग्नलाई पक्राउ गरी प्रहरीले कार्वाही गर्न सकेको छैन । यस्ता घटना गराउनेलाई कार्वाही नहुँदा अराजक मानसिकता बोकेकाहरुले झन् प्रश्रय पाउने देखिन्छ । शनिवार दिउँसो करिब २ बजेको समयमा भएको सो घटनामा कुटाई खाने निमेशको टाउकोमा र सुरजको मुखमा चोट लागेको थियो । घाईते दुवैको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचार पश्चात डिस्चार्ज भइसकेका छन् । तर, यो पहिलो घटना होइन । यसअघि पनि यहाँ झगडादेखि बलात्कारका घटनासम्म घटेका थिए । यो पर्यटकीय क्षेत्रमा भइरहेका गलत गतिबिधिहरु रोक्न स्थानीय वा सरोकारवाला निकायले गम्भिर रुपमा चिन्तन मनन् गर्नु पर्ने देखिन्छ । नभए कुनै समय यहाँ ठूलै घटना घट्न सक्नेतर्फ सचेत बन्नु पर्छ ।
सुरक्षा ब्यवस्था मिलाउन आवश्यक
यो पयर्टकीय क्षेत्र उर्लाबारीको पनि गहना हो । त्यसकारण यसको संरक्षण र प्रबद्र्धनमा उर्लाबारी नगरपालिकाको पनि उत्तिकै दायित्व हुन्छ । सुरक्षाका लागि नगरपालिकाले नगर प्रहरी ब्यवस्थापन गर्दा यहाँ आउने आन्तरिक पर्यटकहरु शान्तसँग रमाइलो गर्न सक्ने अवस्था बन्ने देखिन्छ । साथै इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले समेत दैनिक रुपमा यहाँ गस्ती बढाउन आवश्यक देखिन्छ । घटना घटेपछि मात्रै चासो दिने गरिएको छ । घटना घट्न नदिनका लागि पनि यहाँ गस्ती बढाउन अतिआवश्यक बनिसकेको छ । दैनिक रुपमा सयौं संख्यामा आउने आन्तरिक पर्यटकहरुलाई शान्ति सुरक्षा प्रदान गर्नु वन तथा पर्यटकीय क्षेत्र ब्यवस्थापन समितिको पनि दायित्व हो । त्यसै कारण सुरक्षाका लागि वनले सुरक्षा गार्डहरुको ब्यवस्थापन गर्न सके यहाँ हुने झगडा रोक्न र यहाँ आउने पर्यटकहरुलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय