
मोरङ । शुक्रवारदेखि शुरू हुने नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि नामहरू टुंगो लगाइसकिएको छ ।
हालका अध्यक्ष ऋषिकेश पोखरेल पुनः अध्यक्षमा दोहोरिने जानकार स्रोतले बताएको छ । अहिलेसम्म अधिवेशनबाट अध्यक्षका आकांक्षी अरू कोही नदेखिएकाले पनि सर्वसम्मत अध्यक्षमा पोख्रेलको नाम अगाडि सारिएको ती नेताको भनाई छ ।
अध्यक्ष मात्रै होइन, उपाध्यक्षमा बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा दोहोरिने निश्चित जस्तै भएको छ । उपसचिवमा भने केराबारी गाउँपालिका उपाध्यक्ष शान्ति भुजेललाई ल्याउने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । एमाले फुट्दा १० बुँदे सहमतिमार्फत् सोही पार्टीमा बसेकी थिइन् ।
आदिवासी जनजातिसमेत भएकाले उनलाई समेट्ने तयारी भएको नेताहरूले बताएका छन् । विधानमा नै पदाधिकारीमा एक महिला अनिवार्य गरिएपछि उनलाई ल्याउने तयारी गरिएको हो ।
उनलाई ल्याउँदा महिला र जनजातिसँगै १० बुँदे सहमतिको समेत प्रतिनिधित्व हुने भएकाले उनलाई अनिवार्य गरिनुपर्ने बाध्यता रहेको एमालेका एक जिल्ला सदस्य बताउँछन् ।
उप–सचिवमै मधेशी अनुहारबाट सन्तोष साहलाई ल्याउने तयारी गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने एमाले मोरङका अध्यक्ष ऋषिकेश पोख्रेलले बताए ।
पदाधिकारीसहित जिल्ला कमिटीमा बस्ने सबैको नाम टुंगो लगाइसकिएकाले अब ताली बजाउन मात्रै बाँकी रहेको एमाले मोरङका नेताहरू बताउँछन् । चुनाव हुन नदिन असन्तुष्ट नेताहरूसँग केन्द्रीय सदस्य बिनोद ढकाल र भानुभक्त ढकाल छलफलमा जुटेका छन् ।
अधिवेशनको उद्घाटन होटल मनास्लुमा बिहान साढे ११ बजे हुने जिल्ला सचिव रुपेश खतिवडाले बताए । उनका अनुसार १४ सय ५० का हाराहारीमा प्रतिनिधि आउनेछन् । १६५ सदस्य जिल्ला कमिटी गठन गरिने उनको भनाइ छ । कार्यक्रमको उद्घाटन भर्चुअल माध्यमबाट एमाले अध्यक्ष केपी ओलीले गर्नेछन् ।