बिहीबार बिहान नेपालगञ्जमा भेरी प्रादेशिक अस्पतालको स्टोरसँगै रहेको कर्णाली प्रदेशको मेडिकल स्टोरको आवासभवन(क्वाटर) मा निसासिएर एकै परिवारका चारजनाको मृत्यु भयो भने अन्य तीनजना बेहोस अवस्थामा भेटिए।

घाइते तीनजनाको हाल नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको हाल आइसियुमा राखेर उपचार भइरहेको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक डा. प्रकाश थापाले बताए।

‘हामीले तीनजना घाइतेलाई बेहोस अबस्थामै अस्पताल ल्याएर आइसियुमा उपचार गरिरहेका छौँ’‚ उनले भने। अहिले दुईजनाको होस खुलेको छ भने एकजना बेहोस नै छन् ।

कसरी भयो घटना?

भेरी प्रादेशिक अस्पतालस्थित कर्णाली प्रदेशको मेडिकल स्टोरको आवास भवनमा मृत्यु भएको हो।

स्टोरमा सञ्चालित जेनेरेटरमा तेल सकिएको र तेल झिक्न बिहान पाँच बजेतिर स्टोरका सवारी चालकले कार्यालय सहयोगी धनप्रसादलाई फोन गरे।

फोन नउठेपछि उनी आवासको कोठामा गएका रहेछन्। त्यहाँ पनि ढोका नखुलेपछि तत्काल प्रहरीलाई बोलाई ढोका फोड्दा चारजना मृत अवस्थामा र तीनजना गम्भीर अवस्थामा भेटिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए।

‘झरी परेपछि चिसोबाट बच्न हिजो साँझदेखि सातजनाले एउटै कोठामा कोइला बालेर तापेको र राति निभाएर सुतेको भन्ने छ तर झ्यालढोका बन्द गरेर सुतेको हुँदा अक्सिजन अभावले निसासिएर घटना भएको हुनसक्छ’‚ उनले भने।

यता डा. थापाका अनुसार सातजनाले मकलमा कोइला बालेर सुत्दा घटना भएको बताए। ‘मकलमा कोइला बालेर कोठा तताएको जस्तो देखियो। यसरी ढोका थुनेर सुत्दा कोठामा कार्बनमोनोअक्साइड ग्यास भरिएर असर गरे जस्तो देखिन्छ’‚ उनले भने।

जाडो महिनामा आगो ताप्दा किन निसासिएर मृत्यु हुन्छ

चिसो मौसममा धेरैले शरीरलाई न्यानो बनाउन घरभित्र हिटर, कोइला बालेर बस्छन्। यस्तो वेला झ्यालढोका लगाएर हिटर, कोइला बालेर ताप्दा हावा खेल्न नपाएर मानिसको अक्सिजन अभावले निसासिएर ज्यान जाने डा. थापाले बताए।

‘आगो ताप्न बालिने हिटर, कोइला जल्ने क्रममा धेरै कार्बनमोनोअक्साइड निस्कन्छ, यस्तो वेला झ्यालढोका बन्द गर्दा मानिसलाई अक्सिजन पुग्दैन र कार्बनमोनोअक्साइडले गर्दा विस्तारै मानिसले बेहोस हुन्छ र मानिसको मृत्यु समेत हुने गर्छ’‚ उनले भने।

यस्तै डा. थापाका अनुसार यसरी झ्याल ढोका बन्द गरेर हिटर, कोइला ताप्दा कोही तापेर बस्ने कोही बालेर कोठा न्यानो बनाएर सुत्ने गर्दा छिटो सुत्नेको मृत्यु हुने र ढिलो सुत्ने बेहोस अवस्थामा भेटिने समेत बताए।

हिटर कोइला बालेर आगो ताप्दा के कुरामा ध्यान दिने?

चिसो मौसममा न्यानो बनाउन हिटर कोइला बालेर आगो ताप्दा सकेसम्म खुला हावा खेल्ने ठाउँमा ताप्नुपर्ने यदि घरभित्र ताप्ने हो भने झ्यालढोका खुला बनाएर हावा खेल्न दिनुपर्ने डा. थापाले बताए।

आगो तापिसके पछि त्यसलाई पूरै निभाउने र सुत्नुअघि अनिवार्य रूपमा हिटर बन्द गरेर झ्याल खुला गरेर सुत्नुपर्ने उनले बताए।

आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्ने, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय