टिका सिम्खडा
उर्लाबारी । जिल्ला स्तरीय फुटसल प्रतियोगिताको उपाधि हाटखोला मर्निङ क्लब विराटनगरले जितेको छ ।
मोरङ जिल्ला फुटबल संघले फुटसल खेलाडी छनौटका लागि मोरङको उर्लाबारीमा आयोजना गरेको फुटसल प्रतियोगिता लिगका आधारमा उपाधि विराटनगरले जितेको हो । उसले ९ अंक प्राप्त गरेको छ । त्यस्तै, म्याङ्छयाम फुटसल क्लब विराटचौकले ६ अंक प्राप्त गर्दै दोस्रो बन्यो । उपाधिसँगै विराटनगरले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने विराटचौकले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा भएको उक्त प्रतियोगितामा उर्लाबारी, बेलबारी, विराटचौक र विराटनगरका ४ टिमको सहभागिता रहेको थियो । राष्ट्रिय फुटसल टिमका लागि खेलाडी छनौट गर्न प्रतियोगिता आयोजना गरिएको र १२ जना खेलाडी पनि छानिएको अध्यक्ष सञ्जिब बुढाथोकीले जानकारी दिनुभयो । खेलाडी छनौटका लागि आगामी दिनमा प्रतियोगिता नै आयोजना गर्ने तयारी रहेको उहाँको भनाई छ । कार्यक्रममा उर्लाबारी नगरपालिका नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिनादेवी पौडेल खतिवडा, अखिल नेपाल फुटबल संघका सहायक महासचिब बसन्तराज अर्याल, केन्द्रीय सदस्य दिपेन्द्र धिमाललगायतको उपस्थिति रहेको थियो ।
ADVERTISEMENT