दमक । दमक गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बुधबारदेखि सुरु हुने प्रतियोगिता यही चैत १८ गतेसम्म चल्नेछ । उद्घाटन खेल आयोजक दमक–११ र वाग्मती युवा क्लब सर्लाहीबीच हुनेछ ।
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा प्रतियोगिता हुनेछ । आयोजकका अनुसार चार विदेशीसहित १० टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ–मर्स्याङ्दी क्लब, आयोजक दमक–११, वाग्मती युथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ, दुर्गापुर सन्डे क्लब कोलाकाता र एमिनियर फुटबल क्लब क्यामरुन सहभागी हुने संयोजक मोहन मगरले जानकारी दिए ।
प्रतियोगिता विजेता टोलीले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एकथान मोटरसाइकल दिइनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले २१ हजार रुपैयाँ पाउने आयोजकले जानकारी दिएको छ ।