
विराटनगर, नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि विराटनगर सिटी फुटबल क्लबले रञ्जित धिमाललाई नै मार्की खेलाडीमा निरन्तरता दिएको छ । गत वैशाखमा भएको एनएसएलको पहिलो संस्करणमा पनि विराटनगरले रउनलाई नै मार्की खेलाडी छनोट गरेको थियो ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनइएसएम)ले फुटबलको फ्रेन्चाइज लिग- एनएसएलको दोस्रो संस्करणका लागि भोलि (शुक्रबार) अक्सन गर्दैछ । त्यसअघि नै मार्की खेलाडीको टुंगाे लगाउन क्लबलाई जानकारी दिएको थियो ।
गत सिजनका सात र थप तीन टोली गरी आसन्न संस्करणमा कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसका लागि विराटनगरले मुख्य प्रशिक्षकमा विष्णु गुरुङलाई अनुबन्ध गरिसकेको छ ।
२६ चैतदेखि सुरु हुने तयारीमा रहेको एनएसएलमा गत संस्करणको विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी, पोखरा थन्डर्स, एफसी चितवनसँगै नयाँ क्लबहरू झापा एफसी, मेची-इलाम र विरगञ्ज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् ।
झापाले अञ्जन विष्ट, धनगढीले विशाल राईलाई मार्की खेलाडी घोषणा गरेका छन् भने ललितपुरले विमल घर्तीमगरलाई अनुबन्ध गरेको चर्चा छ ।