विराटनगर । कोरोना महामारीका कारण विगत दुई सिजन रोकिएको मोरङ जिल्ला ए डिभिजन लिग फुटबल शनिबारबाट सुरु भएको छ ।
विराटनगरको सहिद मैदानमा सुरु भएको पहिलोदिनको खेलमा विराटनगरका दुईवटा क्लबले जित हात पारेका छन् । प्रतियोगितामा लिगको साविक उपविजेता सम्राट स्र्पोटिङ क्बलले मोरङ सुन्दरहरैंचास्थित श्री हरैंचा स्र्पोटिङ क्लबलाई २ शून्यले पराजित गरेको छ । सम्राटको जितमा सरोज अधिकारी र अर्जुन मगरले गोल गरेका थिए ।
जित हातपारेपछि क्लबका टीम म्यानेजर निरज श्रेष्ठले खेलाडीले अपेक्षाकृत प्रदर्शन गर्न नसकेको बताए । विपक्षीसमक्ष सुरुवाती क्रममा गोल गर्न नसकेकोमा उनले आउँदो खेलका लागि खेलाडीले थप मेहनत गर्नुपर्नेमा जोडदिए । त्यसैगरी, आजै भएको अर्को खेलमा साविक लिग बिजेता बेलबारी फुटबल क्लबले पहिलो खेलमा हार ब्यहोरेको छ । बेलबारीलाई विराटनगरको मोतीराम स्पोर्टिङग क्लबले ३ शून्यले पराजित गरेको छ । मोतीरामको जितमा टेकबहादुर लिम्बू, सागर चौधरी र घनश्याम चौधरीले समान एक गोल गरेका थिए ।
जिल्ला फुटबल संघ मोरङका अध्यक्ष दीपेन्द्र धिमालका अनुसार गएको दुई वर्ष कोभिड १९ महामारीका कारण फुटबल हुनसकेको थिए । यद्यपि, लिग कम नकआउटका आधारमा सुरु भएको प्रतियोगितामा विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ र ट्रफी हात पार्ने उनले बताए । प्रतियोगिताको फाइनल खेल पुस २४ गते हुने उनले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन विराटनगरका मेयर भीम पराजुलीले गरेका थिए । प्रतियोगिता अन्तर्गत आइतबार जहदा गाउँपालिकाको नवप्रगतिशील क्बलले उर्लाबारी स्पोर्टिग क्लबसँग पहिलो खेलमा र दोस्रो खेलमा साईनो स्र्पोर्टिङ क्लबले युनाइटेड स्र्पोर्टिङ क्लबको सामना गर्ने प्रतियोगिताका संयोजक धनकुमार लामाले जानकारी दिए ।