
उर्लाबारी । मोरङको उर्लाबारीमा आदिवासी सन्थाल समुदाय आफ्नो महान् पर्व ‘सोहराय’ पर्वको समापनको अवसरमा बृहत साूँकृतिक कार्यक्रम सम्पन्न गरिएको छ । उर्लाबारी —८ स्थित एभरेष्ट फन पार्कमा आयोजित कार्यक्रममा सन्थाल समुुदायको नृत्य तथा रहनसहन प्रस्तुत गरिएको थियो । ६ दिनसम्म मनाइने यो पर्वमा सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरिन्छ । आदिवासी सन्थाल समुदायको बसोबास रहेको गाउँघरमा यतिखेर सोहराय पर्वको रमझम थियो । के युवा के वृद्ध, सबै सोहरायको रमाईरहेको देखिए ।
पृथक सनातन ‘विदिन धर्म’ मान्ने सन्थाल समुदायले पारम्परिक सांस्कृतिक विधिअनुसार ‘गड’ पूजा गरी यो पर्व मनाउन सुरू गर्छन् । प्रत्येक वर्ष ९ जनवरीदेखि ६ दिनसम्म मनाइने यो पर्वको प्रत्येक दिनको बेग्लाबेग्लै महत्त्व हुने गरेको सन्थाल समाज उर्लाबारी-८ का अध्यक्ष तथा माझीहडम (गाउँले प्रमुख) शिव किस्कुुले बताए ।
पत्येक वर्ष यसरी नै ६ दिनसम्म यो पर्व हामीले मनाउँदै आएका छौं,’ उनले भने, ‘सबै दिनका आ–आफ्नै महत्त्व छन् ।’युवा पुस्ता विदेसिने थाले, हाम्रो भाषा संस्कृति लोप हुदै गयो, त्यहीभएर यसलाई बचाउन सबै मिलेर लागेका छौं,’
किस्कुले भने ।
सन्थाल समुदायको विभिन्न रिति रिवाज र संस्कृति जर्गेनाका लागि महिलाहरु अग्रसर भएका छन् । पुराना पुस्ताले समाल्दै आएको संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्ने उनीहरु सकृय भएका हुन् । ‘आफ्नो रिती जोगाउन पर्यो नी,’ मोरङ उर्लाबारीका सुकुरमुनि बेस्राले भनिन ।
प्रकृति पुजकका रुपमा लिइने सन्थाल समुदायको सँस्कृति जोगाउन सरकारले ध्यान नदिएको उनले गुनासो गरेका छन् ।
सोहराय पर्वको पहिलो दिनलाई ‘उम‘ भनिन्छ । यस दिन सन्थाल समुदायका मानिसहरू नुहाईधुवाई घर आँगन सफा गरेर चोखिने काम गर्छन् । यसै दिन समुदायको मुख्य पुजारी नाइकीले गाउँको बाहिरपट्टि बनाइएको खुल्ला ठाउँमा विधिपूर्वक ‘गड’ पूजा गर्छन् ।
‘गड’ पुजामा मराङ बुरू, गोसाई ऐरा र जाहेर ऐरा देउतालाई चामलको पिठो, मेथी, सुपारी, लड्डु र जाँड चढाएर पूजा गर्ने गरिन्छ ।
यो पर्वको दोस्रो दिनलाई ‘दाका’ भनिन्छ । दाकाकै दिन चेलीबेटी र पाहुनाहरूलाई निमन्त्रणा गरिएको हुन्छ र उनीहरूले ल्याएका कोसेली बितेका पूर्वजहरूलाई चढाइन्छ ।
सोहराय पर्वको तेस्रो दिनलाई ‘खुन्टोव’ भनिन्छ । यस दिन समुदायका मानिसहरूले विशेष गरी गाईगोरूसहित अन्य वस्तुभाउलाई जिस्काउँदै खेल्नुका साथै पूजापाठ गर्छन् ।
सोहरायको चौथो दिन गाउँका मुखियासहित समुदायका मानिसहरू समूह बनाएर घरघरमा गएर जाँड खाने चलन छ । यो दिनमा जाली काम गरिने भएकाले सोहरायको चौथो दिनलाई ‘जाली’ नामकरण गरिएको बताइन्छ ।
सोहरायको पाँचौं दिनलाई ‘हाकुकाट्कोम’ को रूपमा मनाइन्छ । यस दिन स्थानीय खोलानाला तथा पोखरीबाट माछा र गंगटो मारेर ल्याउने र खाने गरिन्छ । यो पर्वको छैटौं तथा अन्तिम दिन शिकार गरेर मासु खाने चलन रहेको सन्थाल समाज उर्लाबारीका अध्यक्ष गोरे हेमरमले बताए ।
पहिलापहिला जंगलमा गएर शिकार गर्ने चलन रहे पनि पछिल्लो समय यो चलन लोप हुँदै गएर अहिले गाउँघरमै भएका जनावरलाई शिकार गरेर बाँडिचुँडी खाने चलन रहेको छ । ‘साकरात’का रूपमा मनाइने यस दिन गाउँबाहिरको खुला ठाउँमा केराको थम्मा गारेर तीर हान्ने चलन छ । सो ठाउँमा नायकीको विशेष उपस्थितिमा पूजापाठ र मनोरञ्जन गरेपछि यो पर्व समापन हुने गर्छ । उर्लाबारी नगरपालिकाका प्रमुुख खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सन्थाल समाज उर्लाबारीका अध्यक्ष गोरे हेमरमको सभापतित्वमा सम्पन्न भएको थियो ।