पथरी । नेपालकै उत्कृष्ट हरियाली सामुदायिक वन उपभोक्ता समूहमा पौडी पोखरी निर्माण गरिएको छ । पथरीशनिश्चरे–२ मा रहेको उक्त वनले दुई वटा पौडी पोखरी निर्माण गरेको हो ।

बालबालिका र वयस्कलाई छुटाछुट्टै पौडी पोखरी निर्माण गरेको उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगरले जानकारी दिनुभयो । जेठ २५ गतेदेखि पोखरी सर्वसाधारणका लागि खुल्ला गरिने उहाँको भनाई छ । बालबालिकालाई १ सय र वयस्कलाई २ सय रुपैयाँ पौडी खेलेको शुल्क लिने उहाँले बताउनुभयो । पौडी पोखरीमा लकर, सावर, प्रशिक्षण, लाइफ गार्डलगायतका सुविधा छन् ।

मासिक, त्रैमासिक र फुल सिजन सदस्यताको पनि व्यवस्था छ । अध्यक्ष मगरले सुरक्षा, प्रशिक्षणलगायत हरेक दृष्टिकोणले पौडी पोखरी व्यवस्थित ढंगले सञ्चालन ल्याइने जानकारी दिनुभयो । अन्य स्थानमा पोखरीभन्दा पृथक र सुर्लभ दर पौडी खेल्ने ब्यवस्था मिलाएको उहाँले बताउनुभयो । सामुदायिक वनभित्र नेपालको आकारको बोटिङ पोखरी, स्वीमिङ पुल, गेष्ट हाउससहितको रेष्टुरेन्ट, बाल उद्यान, विज्ञान प्रदर्शनी, यलम्बरको मूर्तिलगायत खुल्ला संग्रहालय, वनभोज स्थल, कार्यक्रम हललगायतको डिपीआर निर्माण गरेर भौतिक संरचना निर्माण गरिरहेको अध्यक्ष मगरले जानकारी दिनुभयो । विवाह, पार्टी, भोज, सांगितिक, सांस्कृति कार्यक्रमका लागि एसीसहितको सभाहल चालु अवस्थामा रहेको उहाँले बताउनुभयो ।

पार्किङ, शौचालयको सुविधा रहेको छ भने चमेना गृह तयारी भइरहेको छ । पर्यापर्यटन विकासका लागि सामुदायिक वनको कार्ययोजना र डिपिआरअनुसार ३ वटा पोखरी निर्माण भइरहेको छ । देशभरका करिब २२ हजार सामुदायिक वनहरुलाई पछि पार्दै २०७६ सालमा हरियाली सामुदायिक वन उत्कृष्ट बनेको थियो । हरियालीले गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार हात पारेको थियो । सो पुरस्कार राशी १ लाख रुपैँया रहेको थियो । २०५६ सालमा स्थापना भएको हरियाली सामुदायिक वनले उपभोक्ताहरुको हकहितमा काम गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय