अभिनेता पल शाहले अदालतबाट सफाइ पाए पनि आफूमाथि बलात्कारीको ट्याग कायमै रहेको भन्दै दुःख व्यक्त गरेका छन् । टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ मा सोमबार साँझ कुरा गर्दै अभिनेता शाहले अहिले पनि आफूलाई हेर्ने समाजको नजर परिवर्तन नभएको गुनासो गरेका हुन् ।
सामाजिक सञ्जालमा आफूविरुद्ध आक्रमण जारी रहेको जनाउँदै शाहले भने, ‘म बलात्कारी हुँ’ लेखेर हिँड्नु पर्ने हो ?’
कानूनी रूपमा आफूले सफाइ पाए पनि सामाजिक रूपमा जीवन जिउन निकै कठिन भइरहेको पनि अभिनेता शाले बताए । ‘म के गरौँ, कसरी बाचौँ, कसरी हिँडौँ, कसरी बोलौँ, कसरी खाऊँ, कसरी लाऊँ’ भन्ने प्रश्न गर्दै उनले थपे, ‘कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छाडौँ कि, खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?’
आफूमाथि लागेको मुद्दालाई मानवीय जीवनमा आउने उतारचढावका रूपमा स्मरण गरे । विधि र कानून अनुसार बाँच्ने अधिकार सबैलाई भएको जनाउँदै अभिनेता शाहले भने, ‘म अहिले सामान्य जीवन जिउन खोजी रहेको छु । तर, मेरो विरोध मात्र भइरहेको छ । आफ्नो कुरा पनि राख्न पाएको छैन । यस्तो पनि हुन्छ ?’
अदालतबाट ‘सफाइ’ पाइसकेपछि पनि मैले निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँडौँ कि दुःख पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौँ भन्ने प्रश्न पनि शाहले गरे ।
यस्तो छ पल शाहको पूरा स्टाटस-
मानवीय जीवन हो- उतारचढाव हुन्छ। म नि मानव हो। मभित्र पनि मानवीय संवेदना छ। म रुन्छु, हाँस्छु। तपाईँहरू जस्तै…
ममाथि आरोप लाग्यो, मैले कानुनलाई सघाउन सम्बन्धित निकायमा पुगेँ र १ वर्ष कारागारमा रहेँ। सम्मानित अदालतबाट उक्त आरोपबाट ‘सफाइ’ पाएर म तपाईँहरूजस्तै सामान्य जीवनयापन र कर्म गर्दै आइरहेको छु।
मलाई थाहा छ, बुझेको पनि छु- म एक सार्वजनिक व्यक्ति हुँ। मैले गर्ने हरेक गतिविधि समाजसँग जोडिएको हुन्छ। म साना-साना कुरामा संवेदनशील हुनुपर्दछ र मेरो सेन्स अफ ह्युमरले सक्नेजति म संवेदनशील बन्ने कोसिसमा छु। पछिल्लो समय कान्तिपुर टिभीबाट प्रसारित “What The Flop Show” मा मैले अन्तरवार्ता दिएको थिएँ। उक्त अन्तर्वार्ता प्रसारण भइसकेपछि सामाजिक सञ्जालमा हाम्रो शैलीको चर्को विरोध भइरहेको छ।
प्रसारित कार्यक्रममा ‘हाँसीहाँसी बोल्यो बलात्कारी, जेलका कुरालाई मजाकमा उडायो’जस्ता आरोप लागेका छन्।
म एक्लै यो धर्तीमा कहीँबाट उत्पत्ति भएको हैन। मेरो पनि एउटा परिवार छ। परिवारभित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन्। उनीहरूमा के बित्छ होला, जहिल्यै बलात्कारीको ट्याग दिँदा? कहिल्यै सोच्नुभएको छ परिवारमा पर्ने आघातका बारेमा? उनीहरूलाई मानसिक, व्यक्तिगत, सामाजिक जीवनमा कस्तो असर पर्ला, कस्तो दाग रहला? कहिल्यै त्यो ठाउँमा आफ्नो परिवार राखेर सोच्नुभएको छ?
म स्पष्ट पार्न चाहन्छु। मेरो तर्फबाट मृत या जीवित, आरोपित होस् या अपराधी सबैप्रति मेरो सम्मान छ। म मेरो देशको कानुनलाई शिरोपर गरी कानुनलाई सघाएको मानिसले कानुन उल्लङ्घन या कसैको अवहेलना गर्नेबारे सोच्न सम्म सक्दिनँ।
मेरो जीवनको एक वर्ष म युनिभर्सिटीमा थिएँ। त्यो युनिभर्सिटीमै देखेका सिकेका कुराहरू मैले रोएर मात्र बोल्नुपर्ने हो र? मैले कसैको नाम नलिईकन त्यहाँभित्र मैले भोगेका/देखेका कुरा हाँसेरै सरकारसामु अपिल गर्दा पनि मैले गाली खानुपर्ने हो? म मेरा दुःखका अनुभव हाँसेर कसैसँग सेयर गर्नै नपाउने हो? मैले कसलाई मजाकको पात्र बनाएको छु? म रुँदै अन्तर्वार्ता दिनुपर्ने हो? म मेरो दुःखमा सधैँ रुनुपर्ने हो या मैले मेरा दुःखका अनुभव हाँसीहाँसी साट्न र जित्न पनि पाउँछु? धेरै कुरा अनुत्तरित छन् र मैले बुझ्नसकेको छैन, मेरो जीवनमा मैले गर्नुपर्ने के हो नगर्नु पर्ने के हो? समाजका तपाईँहरू जान्ने बुझ्नेले मलाई उत्तर दिनुहोला!!!
अदालतबाट ‘सफाइ’ पाइसकेपछि पनि मैले निधारमा म बलात्कारी हुूँ लेखेर हिँडौँ कि दुःख पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवनयापन गरौँ? मलाई पल शाह बनाएको तपाईँहरूले हो यसकारण म प्रश्न पनि तपाईँहरूसमक्ष नै गर्न चाहन्छु म के गरौँ? कसरी बाँचौँ? कसरी हिँडौँ? कसरी बोलौँ? कसरी खाऊँ? कसरी लाऊ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ? कि मैले खुलमखुला रत्नपार्कमा गएर आत्मदाह गरौँ?
एकवर्षे कारागार बसाइमा मैले पाएका दुःखलाई आँसुले छिपिक्क भिजाएको छु। पीडाको पहाड छ। तर ती सबै भुलेर मैले कसैको अपमान नगरी, कसैको नामसमेत उच्चारण नगरी दुःखलाई खुसी मुद्रामा साट्दा तपाईँहरूमा परेको असरप्रति क्षमा चाहन्छु। कानुनले तँ सही छस् भनेर ‘सफाइ’ दिएको विषय जोडेर बारम्बार प्रहार हुँदा जीवन जिउने अभिलाषा सकिँदोरहेछ…सबैमा माया सम्मान र धन्यवाद ।