दमक । पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को विजेताले एक करोड पुरस्कार पाउने भएका छन् ।
इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको रियालिटी शो का बारेमा बुधबार झापाको दमकमा पत्रकार सम्मेलन गरी सो जानकारी दिइयो । बुधबार बुटवलमा फिल्ड अडिसन गरिएको छ भने नेपालगन्जमा फागुन ६ गते अडिसन भइसकेको छ । फागुन १४ र १५ गते भारतको सिलगुडी, फागुन २० र २१ गते दमक र फागुन २७ र २८ गते काठमाडौंमा आयोजकले जनाएको छ । फाउन्डेशनले नेपाल बाहेक म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशबाट पनि नेपाली भाषीहरूको वृहत् सहभागिता रहने अपेक्षा गरेको छ ।
नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शोको आयोजना हुने हुन लागेको आयोजकको दाबी छ । यसअघि ‘मेरा डान्स कप र मेरो भ्वाइस कप युएसए’को आयोजना गरिसकेको इन्ट्रा फाउन्डेशनले अब विश्वभर छरिएर रहेका नेपाली भाषीलाई समेटेर दुई रियालिटी शोको आयोजना गर्न लागेको फाउण्डेशनका सचिब सुरेश शर्माले जानकारी दिनुभयो । १६ वर्ष माथिका नेपाली भाषीले यो प्रतियोगीतामा भाग लिन पाउने उहाँको भनाई छ । प्रतियोगीतामा भाग लिन चाहने नेपाली भाषीले इन्ट्रा फाउन्डेशनको एप डाउललोड गरेर आफ्नो नाम आवेदन दिन सक्ने उहाँले बताउनुभयो ।
दुवै रियालिटी शोका विजेताले १–१ करोड पुरस्कार समेत पाउने छन् भने दुवै रियालिटी शोको फस्ट रनरअपले ३०–३० लाख र सेकेन्ड रनरअपले २०–२० लाख पुरस्कार राशी प्राप्त सदस्य सुष्मा राईले जानकारी दिनुभयो ।
‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान छन् । यस्तै, ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलिप रायमाझी, शंकर बीसी, केकी अधिकारी, प्रियंका कार्की, नरमन राई रहनु भएको छ । यी दुवै शोको निर्देशन एलिन श्रेष्ठले गर्नेछन् । नेपालको को– अडिनेटर राम बाँनियाले भन्नुभयोे, ‘नेपाली मौलिकता, संकृति झल्कने गीत संगीतलाई महत्व दिनेछौं ।’ सो कार्यक्रम कलाकार राजेश घतानीले सञ्चालन गर्नुभएको थियो ।
ADVERTISEMENT