
उर्लाबारी । मोरङको उर्लाबारी–६ सिमाना वस्तीमा रहेको मोडल पब्लिक स्कुल अब उर्लाबारी वल्र्ड एकेडेमीमा रुपान्तरण गरी सञ्चालन गरिने भएको छ ।
शनिबार एकेडेमीले अभिभावक अन्तरक्रियाः गुणस्तरीय र अन्तराष्ट्रिय शिक्षा कार्यक्रम गर्दै विश्वमा लागु हुने शिक्षा उर्लाबारी वल्र्ड एकेडेमीले दिने जानकारी गराइएको हो । उर्लाबारीलाई शिक्षाको माध्यमबाट विश्वसँग जोड्ने अभियान अन्तरगत पृथक र फरक शिक्षण विधिबाट अघि बढेको सञ्चालक विवेक दाहालले जानकारी दिनुभयो ।
उक्त एकेडेमीमा १२ कक्षासरह मान्यता भएको एड्भान्स लेभल (ए लेभल) पनि सञ्चालन हुने भएको छ । संसारभर व्यावहारिक र सम्भावनामुखी शिक्षाका रूपमा चिनिन्छ । ए लेभल अध्ययनपछि नेपाल सहित विश्वका धेरै विश्वविद्यालयमा स्नातक अध्ययनको अवसर पाउने सम्भावना भएकाले पनि यसप्रति विद्यार्थीको आकर्षण बढेको छ । काठमाडौं गएर पढ्नु पर्ने उक्त कोष अब कोशी प्रदेशको उर्लाबारीमा संचालन हुने भएको हो । उर्लाबारी वल्र्ड एकेडेमीले आगामी शैक्षिक सत्रबाट क्याम्ब्रिज विश्वविध्यालयको ए लेभल संचालन गर्न लागेको छ । उत्कृष्ट अन्तरास्ट्रिय स्तरको भौतिक पूर्वाधार, अत्याधुनिक ल्याब र अन्तरास्ट्रिय शिक्षण बिधिको अनुभव प्राप्त शैक्षिक समूहको संलग्नतामा कलेज संचालन हुन लागेको हो ।
ए–लेभल कक्षा सञ्चालन गर्ने प्राविधिक साधन, प्रयोगशाला, पुस्तकालय, सभाकक्ष इत्यादिको सदुपयोग गरी सिर्जनात्मक सोचाई तथा अन्य सिप बढाउने उद्देश्यसहित इडुटेक ग्रुप नेपालले उक्त कलेज संचालन गर्न लागेको जनाएको छ ।
विश्वका जुनसुकै ठाउँमा पनि एउटै प्रणालीबाट पठनपाठन हुने र नेपालको अध्ययनपछि विश्वका अन्य ठाउँमा जाँदा सहजै अध्ययन गर्न पाइने हुँदा विद्यार्थीहरु ए लेभलप्रति आर्कषित छन् । क्याम्ब्रिज युनिभर्सिटीले हरेक २÷२ वर्षमा कोर्षको अद्यावधिक गर्ने गर्छ ।
त्यसरी अद्यावधिक भएको कोर्षलाई कसरी पढाउने भन्ने विषयमा पनि ब्रिटिस काउन्सिलले समन्वय गरेर तालिम दिने काम गर्छ । त्यही तालिम लिएका शिक्षकहरुले नै स्कुल तथा कलेजमा पढाउने कलेजले जनाएको छ । कलेजले भर्ना हुने बिद्यार्थीहरुलाई बिभिन्न वर्कसप, अन्तराष्ट्रिय भ्रमणको अवसर, तालिम लगायतका अवसरहरु दिएर अन्तरास्ट्रिय स्तरका बिद्यार्थीसंग प्रतिष्पर्धा गर्न सक्ने बनाउने लक्ष्य लिएको छ ।
कलेजमा साइन्स र नन साइन्सका कोर्ष गर्न सकिने र उक्त कोर्षमा ३ देखि ५ लाख शुल्कमा सबै कोर्ष सकिने पनि कलेजले जनाएको छ । एसइई दिएका बिद्यार्थीहरुले उक्त कोर्षमा भर्ना हुन पाउनेछन् । कलेजले बिभिन्न छात्रवृत्तिको समेत प्रबन्ध गरेको छ । परम्परागत घोकन्ते शिक्षालाई विस्थापित गर्दै व्यावहारिक शिक्षा दिनु यो पाठ्यक्रमको उद्देश्य भएको कलेजका निर्देशक डा. ऋषिकेश वाग्लेले जानकारी दिनुभयो ।