उर्लाबारी नगरपालिकाले नगर क्षेत्रका किसानहरूलाई चैते धान बालिको लागि बीउ वितरण गरेको छ ।
शुक्रबार उपमेयर मीना खतिवडा पौडेलले कृषकलाई धानको बीउ हस्तान्तरण गर्नुभएको हो । । उहाँले हरेक वर्ष ठूलो मात्रामा धान आयात गरिरहनु परेको समयमा कृषि क्षेत्रलाई अझ चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । अधिकांस किसानले परम्परागत तरिकाले धान खेती गरिरहेको अवस्थामा उर्लाबारी नगरपालिकाले अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेपछि धानको उत्पादन बढ्ने उपमेयर पौडेलको भनाई छ ।
नगरले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा उन्न्त जातको राम धानको बीउ वितरण गरेको हो ।
नगरपालिका कृषि शाखाकी कर्मचारी संगीता खतिवडाले नगरका पाँच वटा कृषक समुह, १९ जना कृषक र एउटा संस्थालाई गरी चार हजार केजी धानको बीउ वितरण गरेको जानकारी दिनुभयो । । ‘कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले विभिन्न योजना अघि सारेको छ,’ कृषि शाखा प्रमुख अम्बिका लुइटेलले भन्नुभयो – ‘कृषिको व्यवसायिकता बिना आयात प्रतिस्थापन गर्न सकिँदैन । नगर क्षेत्रका कुनै पनि जमिन बाँझो नरहने गरी काम भइरहेको छ ।’
नगरका प्रत्येक वडाबाट कृषकको निवेदन प्राप्त गरी सोही निवेदनको आधारमा कृषकलाई धानको बीउ वितरण गरिदै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय