उर्लाबारी । मोरङको उर्लाबारीमा यही माघ २१ देखी २९ गतेसम्म संचालन हुने प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव – २०७९ मा ४ वटा देशका १७० वटा स्टल रहने भएका छन् ।
मुख्य आयोजक उर्लाबारी उद्योग वाणिज्य संघका अनुसार महोत्सवमा नेपालसहित छिमेकी देश भारत, बंगलादेश र पाकिस्तानका १७० वटा स्टल रहने छन् । हालसम्म ७० प्रतिशत स्टल बुकिङ भईसकेको महोत्सव संयोजक भरत भट्टराईले जानकारी दिनुभएको छ ।
९ दिनसम्म संचालन हुने प्रदेशस्तरीय महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने र २५ करोड बढीको कारोबार हुने लक्ष्य राखिएको छ ।
उर्लाबारी– ४ नगरपालिका कार्यालय पुर्वपट्टि संचालन हुने महोत्सवको तयारी तिब्र पारिएको सहसंयोजक प्रितम खड्गीले जानकारी दिनुभयो । महोत्सवलाई सफल बनाउन प्रचारप्रसारलाई तिब्र पारिएको संघका कार्यसमिति सदस्य नुतन राईले बताउनुभएको छ ।