खोलैखोलाले घेरिएको नगरपालिका हो, उर्लाबारी । यस नगरमा मावा, बक्राहा, नुनसरी, सोल्टी, राते होलीलगायत धेरै खोलानालाहरु रहेका छन् । पूर्वमा झापाको दमक नगरपालिका, पश्चिममा पथरी शनिश्चरे र लेटाङ नगरपालिका, उत्तरमा मिक्लाजुङ गाउँपालिका र दक्षिणमा रतुवामाई नगरपालिकासँग सिमाना जोडिएको उर्लाबारी नगरपालिका ७४.६२ वर्ग किलोमिटरमा फैलिएको छ । मोरङ जिल्लाको सदरमुकाम तथा १ नम्बर प्रदेशको राजधानी रहेको विराटनगरबाट करिब ५५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा अवस्थित उर्लाबारी सम्भावना बोकेको नगरपालिकामा पर्दछ ।
उर्लाबारी चौकदेखि उत्तर मधुमल्ला हुँदै पाँचथरको रवीसम्म जोड्ने सडक र दक्षिणतर्फ सिधा सदरमुकाम पुग्ने वैकल्पिक सडक भएका कारण पनि उर्लाबारी सम्भावना प्रचुर देख्न सकिन्छ । साथै उर्लाबारीको किसान चौक हुँदै मिक्लाजुङ गाउँपालिकाको आइतबारेसम्म सडक कालोपत्रेको काम सुरु भएसँगै थप उर्लाबारीको बजार बढ्ने कुरामा दुई मत छैन । त्यस्तै, उर्लाबारी–७ चिउरामिल हुँदै आम्बारी हुँदै सातमेडी सडक कालोपत्रे पनि रातो किताबमा परेर क्रमशः कालोपत्रे हुने क्रममा छ ।
नेपाल सरकारको २०७१ वैशाख २५ गतेको निर्णयानुसार नगरपालिकाको रुपमा घोषणा भएको उर्लाबारी राज्य पूनर्संरचना हुँदा २०७३ फागुन २७ मा साविक राजघाट गाविस र साविक मधुमल्ला गाविसको वडा ७, ८ र ९ समायोजन भई अहिलेको उर्लाबारी नगरपालिका बनेको हो । उर्लाबारीमा ९ वटा वडा रहेका छन् । उर्लाबारी हरेक हिसाबले सम्भावना बोकेको शहर हो । तर, अपेक्षाकृत रुपमा विकास भने हुन सकेको छैन । उर्लाबारी नगरपालिका पर्यटन विकासमा बढी मात्रामा सम्भावना बोकेको देखिन्छ । यस्ता पर्यटकीय सम्भावना धेरै छन् । ती मध्ये मूख्य केहीको यहाँ चर्चा गरिएको छ ।
सिमसारको शहर उर्लाबारी
मोरङको उर्लाबारी सिमसारको शहरका रुपमा परिचित हुँदै गएको छ । उर्लाबारीमा बेतिनी, लामपाते, बुढा ठाकुर, बाँसेचौरीलगायतका सिमसार क्षेत्रहरु रहेका छन्। सिमसार युक्त पर्यटकीय नगरीका रुपमा परिभाषित गर्दै उर्लाबारी नगरपालिकाले पनि सिमसार क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्दै आएको छ । उर्लाबारी–२ मा रहेको बेतिनी सीमसार आन्तरिक पर्यटकीय क्षेत्रको रुपमा परिणत भएको छ भने अन्य सिमसारहरुको उचित संरक्षण र प्रवद्र्धन हुन सकेको छैन ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारी–३ मंगलबारे चौकबाट करिब २ किलोमिटर उत्तरमा चारकोसे जङ्गलभित्र छ, बेतिनी सिमसार । बेतिनी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गर्दै आएको उक्त सिमसारमा उर्लाबारी नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट सहयोग प्राप्त हुँदै आएको छ । यो सिमसार आन्तरिक पर्यटकका अलवा वनभोजका लागि पनि उपयुक्त स्थल बन्दै गएको छ।
वनभोजका लागि टहरा निर्माण, बिजुली तथा खानेपानीलगायतको उचित ब्यवस्थापन गरिएको समूहका अध्यक्ष भीम राईले जानकारी दिनुभयो । यहाँ दैनिक पाँच सयको संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेको राईले बताउनुभयो । बाल उद्यान, कृत्रिम पाटे बाघ, बोटिङ, कृत्रिम पोखरी यहाँका आकर्षण हुन् । सिमसारमा जलयात्राको मज्जा लिन पुग्नेको संख्या दैनिक बढ्दो छ ।
५८ हेक्टर क्षेत्रफलमा फैलिएको यस सिमसारमा बिदाको समयमा सिमसार घुम्न आउनेको संख्या अत्यधिक हुन्छ । सिमसार क्षेत्रमा तारजाली, पक्की शौचालय, चौतारा, सडक ग्राभेललगायत कार्य गरिएको समूहका सदस्य मिलन दाहालले जानकारी दिनुभयो । सिमसारलाई व्यवस्थित बनाउन प्रवेश शुल्क प्रतिव्यक्ति १० तोकिएको छ । यहाँ सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, हर्रो, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टाईं, हाँडीफोर, बकुल्लालगायत चराचुरुङ्गी पाइन्छन् । उक्त स्थान आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गरलगायत जीवजन्तु पाइन्छन् ।
उर्लाबारी–२ कै बाँसेचौरी सिमसार क्षेत्र उचित संरक्षणको अभावमा छ । सुनझोडा सामुदायिक वन समूहको हाताभित्र एकान्त वातावरणमा रहेका यस क्षेत्रमा वनभोजका लागि मानिसहरु आउने गरेका छन् । ठूलो चौर र घाँसे मैदानले त्यहाँ पुग्नेको ध्यान खिच्ने गरेको छ । उर्लाबारी–३ को नयाँ मंगलबारेबाट करिब ५ किलोमिटर उत्तरमा रहेको बाँसेचौरी तथा सिमसारलाई समेत ब्यवस्थित गर्न आवश्यक देखिन्छ । सिमसार क्षेत्रलाई ब्यवस्थित गर्न सकेको खण्डमा कृषकहरुसमेत लाभान्वित हुने स्थानीयबासीको भनाई छ ।
उर्लाबारी–२ कै अर्को महत्वपूर्ण स्थल हो– बुढा ठाकुर सिमसार क्षेत्र । पूर्वी नेपालमा बसोबास गर्दै आएका अल्पसंख्यक धिमाल जातिको ऐतिहासिक क्षेत्रको रुपमा बुढा ठाकुरलाई मान्ने गरिएको छ । प्रत्येक वर्षको जेठ २३ गते यस क्षेत्रमा धिमाल जातिको भव्य पूजासहित सिरिजात (जात्री) मेला लाग्ने गर्छ । उर्लाबारी–३ को नयाँ मंगलबारेबाट करिब ५ किलोमिटर उत्तर गएपछि सुनझोडा मावि हुँदै खोला पश्चिम सुकुम्बासी बस्ती छेउमा यो सिमसार रहेको छ । सुनझोडा सामुदायिक वनको चार हेक्टर क्षेत्रफलमा फैलिएको बुढा ठाकुर सिमसारको विकास गर्न सकेको खण्डमा उत्कृष्ट पर्यटकीय स्थल बन्न सक्ने देखिन्छ । दुम्सी, वन कुखुरा, बँदेल, हात्ती लगायतका जंगली जनावरहरु यहाँ पाइन्छन् । बुढा ठाकुर सिमसार क्षेत्रको विकास र प्रवद्र्धनमा सम्बन्धित निकायको उचित ध्यान नपुगेको देखिन्छ ।
यस्तै, उर्लाबारी–२ मा रहेको लामपाते सिमसारले पनि पर्यटकीय क्षेत्र बन्न सक्ने प्रचुर सम्भावना बोकेको छ । उर्लाबारी–३ नयाँ मंगलबारेबाट तीन किलोमिटर उत्तर शान्ति आधारभूत विद्यालयको पश्चिम हुँदै यस सिमसार क्षेत्रमा पुग्न सकिन्छ । सालबारी सामुदायिक वनको हाताभित्र रहेको उक्त सिमसार क्षेत्रमा कृत्रिम पोखरी र केही टहरा निर्माण गरिएको छ । तर, सरोकारवाला निकायको ध्यान नपुग्दा उचित विकास हुन सकेको छैन ।
करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसारमा बोटिङ तथा पर्यटकीय स्थलका रुपमा परिचित गराउन सकिने धेरै आधारहरु रहेका छन् । यस सिमसार क्षेत्रमा विभिन्न प्रजातिका जंगली जनावर, विभिन्न प्रकारका वनस्पतिहरु पाइन्छन् । यसका साथै उर्लाबारीका अन्य स्थान समेत कृत्रिम पोखरी निर्माण गर्ने र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अवधारणा अघि बढाइएको छ ।
मदन भण्डारी संग्रहालयः
बहुदलीय जनवादका ब्याख्याता मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो । सोही घटनामा जीवराज आश्रितको समेत ज्यान गएको थियो ।
यो घटनाको छानबिन गर्न धेरै आयोग बनेपनि वास्तविकता अहिलेसम्म बाहिर आउन सकेको छैन । अझैसम्म पनि तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको हत्या की दुर्घटना भन्ने बिषय आम जनसमुदायमा अन्यौल रहेको छ । जननेतासमेत मानिएका भण्डारीको रहस्यमय दुर्घटनामा मृत्युपछि पटक पटक तत्कालिन एमालेका सरकार बने तर पनि भण्डारीको मृत्युका बारेमा सत्यतथ्य बाहिर ल्याउन सकेको छैन ।
हाल तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको छ । र, अहिले नेकपा कै नेतृत्वमा दुई तिहाईको सरकार छ । मदनकी पत्नी विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति रहेकी छिन् । तर, अहिलेसम्म पनि मदन भण्डारीको मृत्युका बारेमा आम जनसमुदाय जनचासो उत्तिकै देखिन्छ । भण्डारीको मृत्युपछि २०५० सालमा नै उर्लाबारीमा मदन भण्डारी स्मृति प्रतिष्ठानको स्थापना भएको थियो। सोही प्रतिष्ठानले भण्डारीको राजनीतिक, सामाजिक एवम् पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा मदन भण्डारी संग्रहालय निर्माण गरेको छ । मदन भण्डारीको जन्मदेखि मृत्युसम्मका संग्रहालयमा समेटिएको छ । संग्रहालयको २०७४ सालमा राष्ट्रपति तथा मदनकी पत्नी विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।
पुरातत्व विभागको आर्थिक सहयोगमा करिब तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले संग्रहालय निर्माण गरेको हो । संग्रहालय भवन भूकम्प प्रतिरोधात्मक क्षमताको तीन तले छ भने जसमा १६ कक्ष रहेको प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत मेघराज श्रीपालीले जानकारी दिनुभयो ।
के–के छ संग्रहालयमा ?
संग्रहालय प्रवेशद्वारमा भण्डारी र उनी जन्मिएको ताप्लेजुङको ढुंगेसाँघु गाउँको तस्वीर र दुर्घटनामा परेको बा.अ.च. ८७९३ नम्बरको जीप राखिएको छ । संग्रहालय प्रवेश गरिसकेपछि पश्चिमपट्टिको भित्तामा उनको व्यक्तित्व झल्काउने दश मिनेटको श्रव्यदृष्य प्रदर्शनी छ । त्यसमा नेता भण्डारी पहिलो पटक सात सदस्यीय नेपाली जनवादी सांस्कृतिक संघमा आबद्ध भएर राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा होमिएको लगायतका गतिविधिहरू देखाइएको छ ।
वि.सं २०१७ को फौजी काण्ड, जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको गिरफ्तारी, २०१८ सालमा भएको नेत्र गुरागाईंको हत्या, २०२१ सालमा भएको क्रान्ति योद्धा दुर्गानन्द झाको हत्या, २०२८ सालमा भएको झापा विद्रोह र त्यसपछि उत्पन्न भएको क्रान्तिलाई नेता भण्डारीले सुक्ष्म रुपले अध्ययन गरी नेपाली कम्युनिष्ट आन्दोलनको राजनीतिक दिशा निर्धारित गरेको संग्रहालयमा चित्रण गरिएको छ । यस्तै, संग्रहालयमा पार्टी एकीकरण कक्षका दुई वटा सिसाका सोकेस छन् । जसमा विभिन्न कम्युनिष्ट समूहको एकीकरण प्रक्रिया र मोरङको इटहरा (हाल रतुवामाई नगरपालिका) मा तत्कालिन नेकपा (माले) गठनसँग सम्बन्धित श्रव्यदृष्य सामग्रीसमेत राखिएको छ ।
संग्रहालयमा जनवर्गीय संगठनको पूनर्गठन तथा निर्माण एवम् विभिन्न आन्दोलनको परिचालनदेखि लिएर पञ्चायतमा भएको हस्तक्षेप तथा यसका उपलब्धीसँग सम्बन्धित सामग्रीलाई राखिएको छ । संग्रहालयमा सिरहा जिल्लाकोे विष्णुपुरकट्टीमा २०४६ भदौ ९–१४ मा भएको तत्कालिन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशनसँग सम्बन्धित विवरण राखिएको छ । जसले भण्डारीलाई पार्टीको महासचिवमा सर्वसम्मतिले चयन गरेको थियो ।
दोस्रो तलामा नेता भण्डारीको निजी प्रयोगका घडी, टोपी, चप्पल, लुङ्गी, ज्याकेट, मोजा, जुत्ता, रेडियो, भाँडावर्तन, औजार, चश्मा, डायरी, कलम, बुबाआमालाई लेखिएको चिठ्ठी आदि राखिएको छ । यस्तै, मोरङको इटहरास्थित घरको प्रकृतिसहित जननेता भण्डारीले प्रयोग गरेको साइकल, भण्डारीको काठमाडौंको नक्सालस्थित डेरा र अध्ययन कक्षको पनि प्रतिकृति बनाइएको छ, जसले नेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज हुनेछ ।
नेता भण्डारीले तत्कालीन समयमा प्रतिनिधिसभामा खेलेको भूमिकासँग सम्बन्धित सामग्रीको प्रस्तुतीकरण, नेपालसँग भएका विभिन्न असमान सन्धी सम्झौतासँग सम्बन्धित रहेर राष्ट्रियताका विषयमा उनले लिएको अडानसम्बन्धी सामग्री पनि राखिएका छन् । दास ढुङ्गा दुर्घटना पूर्व पोखराको सभागृह, दास ढुङ्गा गाडी गुड्ने सडक तथा गाडीको चित्राङ्कन, सडकदेखि त्रिशुली नदीसम्मको भिरालोमा गाडी दुर्घटना भएको ठाउँ, त्रिशुलीको भेलमाथि हेलिकोप्टरसहितको टोलीले नेता भण्डारीको खोजी, दुर्घटनाग्रस्त गाडी त्रिशुलीबाट क्रेनको सहाराले निकाल्दै गरेको दृश्य, नेता जीवराज आश्रितको शवको अवस्था, चितवनको गाँजीपुरस्थित त्रिशुलीको बगरमा नेता भण्डारीको शव, त्यस ताका रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रशारित घटनाबारेको समाचारको अंश, दशरथ रङ्गशालाको श्रद्धाञ्जली सभादेखि आर्यघाटसम्मको शवयात्राका तस्वीर राखिएको छ ।
उक्त कक्षमा मधुर आवाजमा शोक धुन पनि सुन्न सकिन्छ । यहाँ नेता भण्डारीको रहस्यमय दुर्घटनापछि बनेका आयोग, तिनका प्रतिवेदन र जनप्रतिक्रियालाई पनि राखिएको छ । यहाँ सबै दुर्घटना छानबीन आयोगसँग सम्बन्धित पदाधिकारी तथा सदस्यसमेतको तस्वीरसहितका प्रतिवेदन रहेका छन् ।
तेस्रो तलामा सुविधासम्पन्न सभाकक्ष छ । त्यहाँ मल्टिमिडिया प्रोजेक्टरबाट नेता भण्डारीसम्बन्धी वृत्तचित्र प्रदर्शनका साथै जनताको बहुदलीय जनवाद (जबज) को पाठशाला राखिएको छ । सभाकक्ष नजिकै अर्को कक्षमा पुस्तकालय रहेको छ । उक्त पुस्तकालयमा नेता भण्डारीका सम्बन्धमा विस्तृत रुपमा अध्ययन गर्न चाहनेले विभिन्न अध्ययन सामग्री प्राप्त गर्न सक्ने छन् । संग्रहालयको अवलोकन गरेपछि भुईं तल्ला ओर्लिएपछि दास ढुङ्गामा दुर्घटनाग्रस्त जीप राखिएको छ । यहाँ स्वर्गीय नेता भण्डारीको जन्मदेखि मृत्युसम्मका सामग्रीहरु संकलन गरेर राखिएकोले खोज अनुसन्धान गर्नेहरुका लागि यो संग्रहालय महत्वपूर्ण हुनसक्छ । संग्रहालयको अवलोकन गर्न दैनिक ५० भन्दा बढी आउने गरेको संग्रहालयका अधिकृत गणेश घिमिरेले बताउनुभयो ।
संग्रहालयको अवलोकन र अध्ययन गर्न विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी, पत्रकार, प्राध्यापक, राजनीतिक क्षेत्रका मानिसहरू आउने गरेका छन् । प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बराल जननेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज होस् भन्ने उद्देश्यले संग्रहालय निर्माण गरिएको बताउनुहुन्छ ।
बाल उद्यानदेखि रेलसम्मको आकर्षणः
मदन भण्डारी स्मृति प्रतिष्ठानले संग्रहालय अगाडि बाल उद्यानमा निर्माण गरेको छ । उद्यानको बिचममा भण्डारीको पूर्णकदको सालिक रहेको छ । उद्यानमा बालबालिकालाई मनोरञ्जनका लागि विद्युतीय रेल, चिप्लेटी, पिङ, फूलबारी, पानीको फोहोरालगायत रहेका छन् । बाल उद्यान उर्लाबारी, पथरी शनिश्चरे, लेटाङ, मिक्लाजुङ, रतुवामाई, सुन्दर हरैंचाका साथै झापा र सुनसरीका विभिन्न स्थानका बालबालिकालाई बिदाको समयमा मनोरञ्जनसँगै शिक्षामूलक स्थानका रुपमा चिनिन थालेको छ । करिब १ करोड लागतमा निर्माण भएको उक्त उद्यान बालबालिकाहरुको आकर्षणको केन्द्र बनेको छ ।
प्रतिष्ठानकै हातामा निर्मित स्लाईडिङ पुल अर्काे आकर्षण बनेको छ । गर्मीको समय पौडीको मज्जा लिनका सर्वसाधारण आउने गरेको छन् । यसले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । दुई बिघा क्षेत्रफलमा रहेको प्रतिष्ठान हाताभित्र भण्डारीको पूर्णकदको शालिक, संग्राहलय र बाल उद्यानले आन्तरिक पर्यटकहरुलाई आकर्षित गरेको हो । विशेष गरेर शनिबार तथा विदाका दिन यहाँ आगन्तुक बढी आउने गरेका छन् ।
मञ्जुल मितेरीको हजार मूर्तिको सपनाः
उर्लाबारीको पर्यटन विकासमा युवा मूर्तिकार मञ्जुल बराईली (मितेरी) द्वारा निर्मित मूर्तिहरु कोसेढुंगा सावित हुने छन्। एक हजार मूर्ति तयार गरी राष्ट्रलाई दिने घोषणा गरेका मूर्तिकार मितेरीले १ सय ५० भन्दा बढी विश्व प्रसिद्ध ब्यक्तिका मूर्तिहरु निर्माण गरिसक्नुभएको छ ।
२०७२ सालमा युवा प्रतिभा पुरस्कारबाट सम्मानित भइसक्नुभएका मितेरी यतिबेला जापानमा विश्वकै ठूलो बुद्धको मूर्ति निर्माणमा जुट्नु भएको छ । नेपाललाई विश्व सामु चिनाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षाले पनि थप उत्साहित हुनुहुन्छ । मोरङको उर्लाबारी–६ मा निवासी मितेरीले २०८४ फागुनभित्र हजार मूर्ति राष्ट्रलाई प्रदान गर्ने घोषणा गर्नुभएको छ । २०६१ सालमा १० वर्षभित्र मूर्ति राष्ट्रलाई दिने घोषणा गरेका मितेरीले आर्थिक अवस्था लगायत विभिन्न कारणले आफ्नो उद्देश्य पूरा हुन नसकेको उल्लेख गर्नुभएको थियो । पछिल्लो समय जापानको कामिआमाकुसा शहरको विशाल पहरामा विशाल बुद्धको मूर्ति बताइरहेका मन्जुलको एउटै लक्ष्य छ, ‘एक हजार विश्वप्रसिद्ध ब्यक्तिका मूर्ति राष्ट्रलाई उपहार दिने ।’
अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रः
उर्लाबारी–३ स्थित धिमाल जातीय विकास केन्द्र पनि सम्भावना बोकेको पर्यटकीय स्थल हो । तर, यहाँको उचित विकासमा ध्यान पुगेको छैन । पूर्वी नेपालमा बसोबास गर्ने अल्पसंख्यक धिमालहरुको अध्ययन केन्द्र बनाउन सकेको खण्डमा देशविदेशबाट पर्यटकहरु आउन सक्ने देखिन्छ । १० विघा क्षेत्रमा फैलिएको धिमाल जातीय विकास केन्द्रको स्वागत गेटमा दुई वटा ‘भट्टी पसल’ खोलिएको छ भने सुपारी प्रशोधन उद्योगलगायतका लागि भाडामा दिएको छ । २०५१ सालमा नेपाल सरकारले धिमाल जातीय पहिचान, संस्कृतिको जर्गेना र विकासको निम्ति सो क्षेत्र धिमाल जातीय विकास केन्द्रलाई उपलब्ध गराएको थियो । तर, धिमाल जातिको हितमा खासै काम भएको देखिन्न । यहाँ जीवित संग्रहालयको रुपमा धिमाल जातिको संस्कृतिको झल्को दिने र आगन्तुक, अध्येताहरुलाई बस्न र संस्कृतिको बारेमा जान्न चाहनेलाई होमस्टेको ब्यवस्थापन गर्न आवश्यक देखिन्छ ।
त्यस्तै, उर्लाबारी–३ मंगलबारेमा रहेको किरात राई यायोख्खा साकेला थान पनि धार्मिक पर्यटकीय स्थल बन्ने तरखरमा छ । किरात राई यायोख्खाका बारेमा हरेक गतिविधि बुझ्न सकिने संग्रहालय निर्माणाधीन अवस्था छ । प्रदेश सरकारको बहुवर्षीय योजनामा भवन निर्माणको काम भइरहेको छ । किरात राई यायोख्खा उर्लाबारी नगर समितिले उक्त साकेला थानलाई धार्मिक पर्यटकीय स्थलका रुपमा रुपान्तरण गर्न लागि परेको कोषाध्यक्ष नुतन राईले जानकारी दिनुभयो । उभौली पर्व र उधौली पर्वसमेत सोही थानमा मनाइने गरिएको छ । राई समुदायको चण्डी नाच लोकप्रिय मानिन्छ।
यस्तै, उर्लाबारी–५ मा रहेको पूर्वी नेपालकै सबैभन्दा ठूलो र आकर्षक बुद्ध मूर्तिसहितको पूर्वाञ्चल बौद्ध गुम्बा पनि एक धार्मिक पर्यटकीय स्थलका रुपमा परिचित छ । २०५२ सालमा थाइल्याण्डका राजाको ५० औँ जन्मोत्सवको अवसरमा अष्ट धातुले बनेको ६ फिट उचाई र ३ सय केजी तौल भएको यो मूर्ति उपहार स्वरुप उर्लाबारीलाई प्रदान गरिएको थियो । सभाहलसहितको यो गुम्बा बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम गर्ने गरिएको छ ।
त्यस्तै, उर्लाबारी–६ को आत्मनन्द मिङ्सो माङहिम पनि धार्मिक पर्यटकीय क्षेत्रका रुपमा लिन सकिन्छ । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको माङहिमको आकर्षक बनोटमा जो कोहीको नजर पर्ने गरेको छ। उर्लाबारी–६ कै सिद्धेश्वर बाबा धामलाई पनि अर्को धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहल भइरहेको छ ।
यस्तै, उर्लाबारी–८ मा निजी स्तरको एभरेष्ट फर्न पार्क सञ्चालनको तयारीमा छ । यसले पनि उर्लाबारीको पर्यटन विकासमा सघाउ पुग्ने देखिन्छ । उर्लाबारीका अन्य विभिन्न मठमन्दिर, गुम्बालगायत पनि धार्मिक पर्यटकीय स्थल बन्न सक्ने देखिन्छ ।
अन्त्यमा, उर्लाबारी नगरपालिकामा धेरै सम्भावना बोकेका स्थलहरु रहेका छन्। त्यसको उचित विकास र प्रवद्र्धन हुन सकेको छैन । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले गुरु योजना बनाएर पर्यटनको विकासमा ध्यान दिनु पर्ने आवश्यकता देखिन्छ ।